बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ड्राइभरलाई रुवाएर कमरेड मन्त्री बन्न लागेको आरोप

शुक्रबार, असोज २२ २०७८

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको नेकपा (माओवादी केन्द्र) त्यसयता तीन पटक आफ्नै नेतृत्वसहित पटक-पटक सरकारमा गयो । दर्जनौँ पटक पार्टी सरकारमा जाँदा अधिकांश नेताहरुले दोहोर्याई, तेहेर्याई मन्त्री बन्ने अवसर पाएपनि केही नेता भने त्यस्तो अवसरबाट बन्चित हुँदै आए ।

पटक-पटक पार्टी सरकारमा जाँदा पनि मन्त्री बन्न नपाएका हालको स्थायी कमिटीका एक मात्र नेता हुन – देवेन्द्र पौडेल । खुला राजनीतिको लगभग १६ वर्षे अवधिमा केही नेताका श्रीमान-श्रीमती नै मन्त्री बनेपनि पौडेल भने कर्नरमा पर्दै आएका थियो । उनै पौडेललाई माओवादीले यसपटक मन्त्रीमा प्रस्ताव गरेको छ । हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पौडेलसहित थप तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

माओवादीको उपल्लो तहमा रहेर पनि मन्त्री बन्ने अवसर नपाएका स्थायी कमिटीका एकमात्र नेता भएकाले पनि पौडेललाई मन्त्री बनाउने माओवादीको निर्णयलाई नेता-कार्यकर्ता र बाहिरबाट पनि सकारात्मक रुपमा लिइएको छ ।

“सांसद खान माओवादीमा फर्किनुभएको थियो,मन्त्री बन्न लाग्नुभयो ।”

त्यसो त,पौडेल केपी ओली नेतृत्वको सरकारमा पनि मन्त्री बन्ने चर्चा थियो । मन्त्रिमण्डल पुनर्गठन हुँदा माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाएर पौडेललाई पठाउने गरी प्रचण्डले तयारी गरेको बताइएको थियो । तर,बाग्लुङकै अर्का नेता डा. सूर्य पाठक बाधक हुँदा उनको सिंहदरबार यात्रा रोकिएको तत्कालीन नेकपाका नेताहरु सुनाउने गर्थे । एउटै जिल्लाका दुई नेताबीचको स्थानीय अन्तविरोधका कारण केपी ओलीलाई भनेर पाठकले पौडेललाई रोकेको भन्नेहरु अहिले पनि छन् ।

पौडेलले अवसर नपाउनुमा अर्को पनि कारण छ । तत्कालीन एकीकृत माओवादीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईबीच अन्तरविरोध चर्किंदा पौडेल भट्टराईतिर लागेर प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार बन्नुभएको थियो । त्यहीबेला नाम्गेल शेर्पालगायतका ब्यापारीलाई अमेरिका छिराउने क्रममा दूतावासले उहाँको समेत भीसा रोकिदिएको थियो । पछि भट्टराईले माओवादी छोडेर नयाँ शक्ति गठन गर्दा त्यतै लागेका पौडेल गत आम निर्वाचनताका माओवादीमै फर्किएर बाग्लुङबाट चुनाव जितेका हुन् ।

माओवादीले मन्त्रीमा प्रस्ताव गरेर पौडेलमाथि न्याय गरेको भन्दै गर्दा आफ्नै सवारी चालकमाथि उनले अन्याय गरेको घटना बाहिरिएको छ । पौडेलले झण्डै दुई वर्षको पारिश्रमिक नदिएको भन्दै उनका सवारी चालक रोशन पौडेलले सामाजिक सञ्जालमा हारगुहार गरेपछि घटना सार्वजनिक भएको हो ।

रोशनले आफ्नो पारिश्रमिक वापतको ३ लाख ६८ हजार रुपैयाँ पौडेलले खाइदिएको भन्दै फेसबुकमा गुनासो पोखेका छन् । ०७१ साल फागुनदेखि ०७३ चैत्रसम्म पौडेलको निजी चालकका रुपमा काम गरेको तर, अहिलेसम्म ६० हजार मात्र दिएर बाँकी रकम नपाएको रोशनको दाबी छ । मासिक १७ हजार पारिश्रमिक तोकिएर काम गरेको बताउँदै उनले चार लाख २५ हजार पाउनुपर्नेमा जम्मा ६० हजार मात्र पाएकाले अब ३ लाख ६८ हजार पौडेलसँग लिनुपर्ने हिसाब निकालेका छन् ।

सुवर्ण अर्याल नामक व्यक्तिले ग्लोबल आइएमइमा रहेको पौडेलको खातामा २०७७ साउन ८ गते ३३ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको भौचर बाहिरिएपछि यस्तो आरोप लागेको हो ।

रोशनसँग गत वर्षको पहिलो लकडाउनमा पौडेललाई भेट्न काठमाडौँ आउँदा गेटबाट फर्किनु परेको तीतो अनुभव पनि रहेछ । कोरोना संक्रमणको खतरा हुने भन्दै आफूलाई गेटबाटै छिर्न नदिएको उनले गुनासो गरे । बुटवलमा ड्राइभरी गरिरहेका उनी प्रचण्डलाई भेटेर गुनासो पोख्ने तरखरमा रहेको बताउँछन् ।

यता,स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँ लुकाएको आरोप पनि यहीबेला पौडेलमाथि लागेको छ । सुवर्ण अर्याल नामक व्यक्तिले ग्लोबल आइएमइमा रहेको पौडेलको खाता (१७०७०१०००२०४७) मा २०७७ साउन ८ गते ३३ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको भौचर बाहिरिएपछि यस्तो आरोप लागेको हो । ग्लोबल आइएमइका अध्यक्ष चन्द्र ढकाल र पौडेल टाढाको नाताले मामा-भान्जा पनि हुन् । त्यसैले पौडेलले त्यहाँ रकम ब्यवस्थापन गरेको निकटहरु नै बताइरहेका छन् ।

सांसद खानैका लागि पौडेल बाबुराम छोडेर माओवादीमा फर्किएको भन्नेहरु पनि छन् । तत्कालीन नयाँ शक्ति पार्टीको केन्द्रीय कमिटीको बैठकको रोचक किस्सा सुनाउँदै निकट स्रोत भन्छ – सांसद खान माओवादीमा फर्किनुभएको थियो,मन्त्री बन्न लाग्नुभयो । कुरा के रहेछ भने, बबरमहलस्थित केन्द्रीय कार्यालयमा नयाँ शक्तिको केन्द्रीय समिति बैठक बसिरहेको थियो । बैठकको वीचमा जुरुक्क उठेर पौडेलकी श्रीमती बलावती शमाले भन्नुभयो, ‘बाबुराम दाइको पार्टीमा लागेर जीवनभर सांसद बन्न सकिंदैन । त्यसैले हामी माओवादीमै फर्कनुपर्छ ।’

आफूले भरोशा गरेको मान्छेले नै सांसद बन्न माओवादीमा फर्किने बताएपछि डा.भट्टराईले पनि भन्दिनु भएछ, ‘ल ठीक छ सांसद हुने रहर छ र प्रचण्डले पनि बनाउने हो भने जानु न त !’

नेपालको वामपन्थी आन्दोलनमा पौडेल पुराना नेता हुन। कठिन संघर्ष गरेर यहाँसम्म आइपुग्नु भएकोमा पनि कुनै दुई मत छैन । राजनीतिक योगदान र हालसम्म अवसर नपाएका हिसाबले मन्त्रीका लागि त झन् उनी योग्य पात्र नै हो । तर, आफूमाथि उठेका यस्ता प्रश्नको जवाफ नदिई सिंहदरबार यात्रा स्वयं पौडेलका लागि पनि सुखद नहुन सक्छ । जनआश्था साप्ताहिकमा खबर छ l