काठमाडौं । लामो समयसम्म किचलोमै रुमलिएको मन्त्रीपरिषद् विस्तारले आज पूर्णता पाउने नेताहरुले दाबी गरेका छन् । सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डाको टुंगो लागे पनि दलहरुबीचकै आन्तरिक दबाबका कारण सरकार विस्तार हुन सकिरहेको छैन ।
सरकार गठन भएको तीन महिना पुग्न लाग्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको आलोचना खेपेका प्रधानमन्त्री शेरवहादुर देउवाले मन्त्रालय बाँडफाँडमा यसअघि भएको सहमतिलाई हेरफेर गर्दै आज नया मन्त्रीलाई सपथ खुवाउने तयारी गर्नु भएको बालुवाटार स्रोतको दाबी छ ।
पछिल्लो सहमति अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४ ४ मन्त्रालय पाएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक राज्य मन्त्री पनि पाउने सहमति गरिएको छ ।
कुन–कुन मन्त्रालय भन्ने टुङ्गो लगाएर हिजो नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भए पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाए पछि हिजो मन्त्रिपरिषद् विस्तार हुन नसकेको गठबन्धनका नेताहरुको भनाई छ ।
छलफलमा एकीकृत समाजवादीलाई स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय दिने सहमति भएको छ । एकीकृत समाजवादीलाई कानुन मन्त्रालयको साटो स्वास्थ्य मन्त्रालय दिने र प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ । भागबण्डा मिलेसँगै एकीकृत समाजवादीले मन्त्रीको नाम टुङ्ग्याउन आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ ।
यस्तै, नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित गृह, रक्षा, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
यस्तै, माओवादी केन्द्रले अर्थ, उर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाएको छ । यस्तै, जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ । जसपाले मन्त्रीको नाम भने टुङ्गो लगाउन सकेको छैन । मन्त्रालयमा दलहरुबीच सहमति भएपनि आफ्नै पार्टी भित्र मन्त्रीका आकांक्षी धेरै हुदा उनीहरुलाई मन्त्री छान्न सकस परेको देखिन्छ ।