काठमाडौँ l बैंक तथा वित्तीय संस्थाहरुले गत आ/व ०७७/०७८ को सञ्चित नाफाबाट लाभांश घोषणा गर्ने क्रम तीव्र रुपमा अगाडि बढेको छ ।
बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ ।
यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
विकास बैंकमा कामना पहिलो

सात वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो