काठमाडौं l सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको दौडमा रहेका ३ नेताबीच सोमबार भेटवार्ता भएको छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा आज सोमवार नेताहरू बिमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।
भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले बताएका छन् । ३ नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका हुन् । लामिछानेका अनुसार ३ नेताबीच ३ सहमति भएका छन् ।
सहमतिको पहिलो बुँदामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्ने माग गर्ने विषय रहेको छ ।
दोस्रो बुँदामा तीनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने माग गरेका छन् । तेस्रो बुँदामा आपसी सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने सहमति जुटेको लामिछानेले बताएका छन् ।
पार्टी उपसभापति निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा ३ नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको बताए ।
पछिल्लो समय ३ नेताबीच भेटघाट बाक्लो भएको छ । निधिले औपचारिक रूपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक समेत सभापतिमा उम्मेदवार हुने तयारीमा रहेका छन् ।