काठमाडौं । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिकामा कांग्रेसले सर्वसम्मत गर्न नसकेपछि आज मतदानबाट नेतृत्व छान्ने तयारी गरेको छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महानगरपालिकाको पदाधिकारीमा सहमति जुट्न नसकेपछि आज निर्वाचन हुन लागेको हो ।
महानगरमा पदाधिकारीबाहेकका अन्य पदमा भने हिजै सहमति भएको जनाइएको छ। महानगरको अधिवेशनको हिजो कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको थियो । देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।
काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह– गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो।
विगतदेखि काठमाडौंमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ । केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको हो। ३२ वडा मध्ये अधिकांश वडा सभा सभापतिको समर्थन शाक्यलाई रहेको बताइएको छ।
काठमाडौं जिल्लाका अन्य पालिकाले भने हिजै नेतृत्व चयन गरिसकेका छन् ।
काठमाडौंको तारकेश्वर नगर सभापतिमा, देउवा र सिटौला पक्षका कृष्णहरि महर्जन निर्वाचित भएका छन् । महर्जनले, प्रकाशमान सिंह र गगन थापा समूहका श्रीराम थापालाई पराजित गरेका हुन् ।
बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा भने, गगन थापा निटक राजाराम बुढाथोकी निर्वाचित भएका छन् । देउवाको गृह नगरसमेत रहेको बूढानीलकण्ठमा सिंह र थापा निकट प्यानलले जित हात पारेको हो।