शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

एमाले विधान महाधिवेशन: महासचिव पोख्रेलले पेश गरेको प्रस्तावमा के छ ?

शनिबार, असोज १६ २०७८

काठमाडौं । नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आगामी निर्वाचनमा पार्टीलाई सरकारको नेतृत्व गर्ने स्थानमा पुर्याउन सुदृढ पार्टी निर्माणका लागि पाँच वटा आयाम प्रस्ताव गरिएको छ ।   
   
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हिजोदेखि सुरु भएको महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सङ्ठनात्मक प्रस्तावमा पार्टीमा सही सिद्धान्त, कार्यक्रम र कार्यदिशाको निरुपण तथा त्यससम्बन्धी बुझाइमा एकरुपता आवश्यक रहेकामा जोड दिइएको छ ।

पार्टीलाई जिम्मेवारीअनुरुप परिचालन, पार्टी नीतिअनुरुप राष्ट्रिय हित र जन सरोकारका विषयमा पार्टी पङ्क्तिको  परिचालन, जीवनशैली र अनुकरणीय व्यवहारका माध्यमबाट जनतासँगको सम्बन्धलाई घनिष्ठ बनाउँदै निर्वाचनका माध्यमबाट तीनै तहका सरकारको नेतृत्व गर्ने ठाउँमा पार्टीलाई पुर्याउन प्रस्ताव गरिएको छ ।

 प्रस्तावमा पार्टी हाल प्रतिपक्षमा रहेको अवस्थामा दबाब तथा जागरणको भूमिकाका माध्यमबाट र सरकारको नेतृत्वमा रहेको अवस्थामा ‘सुखी नेपाली : समृद्ध नेपाल’ को सङ्कल्पअनुरुप समाजवादको आधार तयार गर्ने काममा जनप्रतिनिधि र पार्टी नेतृत्वको सरकारलाई मार्गदर्शन गर्नुपर्ने उल्लेख छ । 

महासचिवको प्रतिवेदनमा पार्टी निर्माणका राजनीतिक तथा वैचारिक आधार, पार्टीको सङ्गठनात्मक सिद्धान्त र जनताको बहुदलीय जनवाद, पार्टी निर्माणमा जबज र पार्टी जीवनको लोकतान्त्रिकरण, पार्टी सङ्गठनको वर्तमान अवस्था, पार्टी निर्माणमा देखिएका समस्या र वर्तमान सन्दर्भमा पार्टी निर्माण तथा व्यवस्थापनको कार्ययोजनाका विषयमा  व्याख्या गरिएको छ ।

प्रस्तावमा पार्टी सदस्य र कार्यकर्ताका समस्या तथा चुनौतीलाई पनि केलाइएको छ । अध्ययन र प्रशिक्षणको कमी, पार्टी सदस्यतामा मापदण्ड पालनाको समस्या,  सङ्गठनात्मक अराजकता तथा गुटबन्दीको समस्या र कार्यकर्ताको मूल्याङ्कनको समस्या, आदर्श र व्यवहारको बीचमा अन्तरविरोधजस्ता विषयलाई बुँदागतरुपमा उल्लेख गरिएको छ ।

प्रस्तावमा नेपालको राजनीतिको वर्तमान अन्योल र सङ्क्रमणलाई सही दिशामा व्यवस्थापन गरी आर्थिक–सामाजिक विकासका माध्यमबाट समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा पूरा गर्ने गरी पार्टीको सङ्गठनात्मक जीवनलाई पुनःव्यवस्थित गर्न आग्रह गरिएको छ ।

विधान महाधिवेशनको माध्यमबाट सिङ्गो पार्टी एकताबद्धरुपमा त्यस दिशामा अघि बढ्नु आवश्यक भएको प्रस्तावमा जनाइएको छ ।