काठमाडौं । पार्टी विभाजनपछि एमालेले आजदेखि ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन गर्दैछ । नीति र विधि तय गर्न एमालेले झण्डै ६ हजार प्रतिनिधिलाई महाधिवेशनमा सहभागी गराउने जनाएको छ । एमालेले आगामी मङ्सिरको दोस्रो साता नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको छ । यसैकालागि
उसले विधान महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीले भेलाको उद्घाटन गर्नेछन् । असोज १७ गतेसम्म विधान महाधिवेशन चल्ने छ ।
महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन् । महाधिवेशनको दोस्रो दिन भोलि समूहगत छलफल र समूहका टोली नेताले सुझाव प्रस्तुत गर्ने छन् ।
तेस्रो दिन असोज १७ गते समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पारेपछि प्रतिवेदन पास गरिनेछ ।
एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ ।
नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।