बाँदरमुढेपीडितसँग गरेको सहमति नै कार्यान्वयन नगर्दा निर्वाचन क्षेत्र छिर्न नसकेका बेला अनेकथरी चुनौतिले प्रचण्ड राजनीतिक रुपमा थला पर्न सक्छन्
काठमाडौँ । नेकपा एमालेसँगको गठबन्धनका कारण चितवन–३ मा निर्वाचन जितेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्को तनाव थपिएको छ। एमालेले टिकट दिए प्रचण्डसँग सोही क्षेत्रमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने रामबहादुर थापा बादलको घोषणाले यस्तो अवस्था ल्याएको हो।
शुक्रबार पत्रकारसँग कुराकानी गर्ने क्रममा बादलको उक्त घोषणा आएको हो। बादलको गृह जिल्ला चितवन हो र संगठनात्मक रुपमा चितवनमा उनी बलिया उम्मेदवार मानिन्छन्।
प्रचण्डले रोजेको निर्वाचन क्षेत्र यसै पनि हाइप्रोफाइल र प्रभाव राख्न सक्ने व्यक्तिहरू मैदानमा रहने स्थान हो। प्रचण्डले मुस्किलसँग राप्रपाका प्रभावशाली नेता बिक्रम पाण्डेलाई गत चुनावमा पराजित गरेका थिए। चुनावमा जित निकाल्नका लागि उनले बाँदरमुढे घटनाका पीडितसँग ६ बुँदे सहमति पनि गरेका थिए।
अहिले प्रचण्डले उक्त सहमति कार्यान्वयन गरेका छैनन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीको अयोध्या प्रकरणले पनि धार्मिक रुपमा मतदाता विभाजित छन्। प्रचण्डको क्षेत्रमा नै रामको मन्दिर बनाउनका लागि मूर्ति पुराइएको थियो, जसले प्रचण्डलाई झड्का लागेको छ।
‘हेवीवेट उम्मेदवारले मात्र होइन राम प्रकरण, बाँदरमुढे पीडितसँगको सहमति र हस्ताक्षर पनि आलै छन्। अहिलेसम्म केही काम गर्न नसकेका कारण प्रचण्डले यस पटक चुनाव जित्ने छैनन्’, स्रोतले भन्यो,‘त्यहाँमाथि उनकै पार्टीमा पहिला रहेका र अहिले एमाले बनेका प्रभावशाली नेताको घोषणाले अप्ठेरो पर्ने स्पष्ट देखिन्छ।’
बादलले चाहेको खण्डमा उक्त निर्वाचन क्षेत्रमा एमालेले उनलाई उभ्याउन सक्छ। ओलीनिकट रहेका बादललाई उक्त क्षेत्रमा एमालेको प्रतिनिधित्व गराउन पठाए प्रचण्डले निर्वाचन क्षेत्र नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ।