बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झापामा लागुऔषधको कारोबार बढ्दै, कारोबारमा युवा संलग्न

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । झापामा पछिल्लो पटक लागुऔषधको कारबारमा युवा पक्राउ पर्ने क्रम बढ्दै गएको छ । प्रहरीले दिनहुँजसो कारोबारीलाई पक्राउ गरेपनि लागुऔषध प्रयोगकर्ताको संख्यामा कमी आउन सकेको छैन । भारतीय सिमा जोडिएकाले पनि लागुऔषधको कारोबार बढेको प्रहरीको भनाई छ ।

यद्यपी प्रहरीले निगरानी बढाएको बताएको छ । यसैक्रममा पछिल्लो पटक प्रहरीले झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।