शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सत्तारुढ दलकै घेराबन्दीले सरकार अप्ठ्यारोमा, कांग्रेस कमजोर बनाउने खेल

बिहिबार, असोज ७ २०७८

काठमाडौं । सत्ता गठबन्धन दलकै घेराबन्दीमा पर्दा गठन भएको दुई महिनासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । मन्त्री परिषद् विस्तार हुन नसक्दा प्रधानमन्त्री शेरवहादुर देउवा सर्वत्र आलोचित हुन थालेका छन् । पार्टी भित्रै पनि उनको कार्यक्षमतालाई लिएर नेता कार्यकर्ताले प्रश्न उठाउन थालेको छन् ।

सत्तासहयात्रीले अड्केलो थाप्दा संघीय सरकारको मन्त्रिपरिषद विस्तार अरु ढिला हुने भएको छ । गठबन्धनका पाँच दलमध्ये दुई दलमात्र सहभागी भएको सरकारमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेता सहभागी नहुँदा विस्तार ढिला भएको हो । 
विस्तारका विषयमा छलफल गर्न आज पनि सत्ता समर्थक दलहरुको बैठक बस्ने भएको छ । सत्ताधारी दलको हिजोको बैठकपछि काँग्रेस महामन्त्री पूर्णबहादुर खडकाले विस्तार हुन केही समय लाग्ने बताए ।
मन्त्री नियुक्तिका लागि दुई समाजवादी पार्टीले दल विभाजनसम्बन्धी अध्यादेशमा विवाद गर्दै आएका छन् । एमालेबाट विभाजित एकीकृत समाजवादी पार्टी अध्यादेशका कारण विभाजन सम्भव भएकोमा सन्तुष्ट छ । तर जनता समाजवादी पार्टीले सोही अध्यादेशका कारण आफ्नो पार्टी विभाजन गर्नुपरेकोमा असन्तुष्ट छ ।

जनता समाजवादीले अध्यादेश फिर्ता लिनुपर्ने बताउँदै आइरहेको छ ।
काँग्रेस नेतृत्वको गठबन्धनमा दुई पक्षको फरक मत आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।

सबै विभागीय मन्त्रालयमा नियुक्ति नहुँदा सरकारका दैनिक कामकाज प्रभावित हुँदै आएका छन् । देउवाले हिजोमात्रै काँग्रेसका तर्फबाट डाक्टर नारायण खडकालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् ।

सरकारमा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री नियुक्त भएका छन् । गएको असार २९ गते सरकार गठन भएको थियो । सरकार विस्तारमा भइरहेको ढिलाईका बारेमा कांग्रेसका एक नेता भन्छन्- प्रधानमन्त्रीलाई काम गर्न नदिएर  नेपाली कांग्रेसलाई कमजोर बनाउने खेल सत्तारुढ दलबाट भइरहेको छ ।