काठमाडौँ । लगानीयोग्य रकमको अभाव हुन थालेपछि बैंक तथा वित्त संस्थाहरुले निक्षेप खोसाखोस गर्न सुरु गरेका छन् । निक्षेपको ब्याजदर बढाउँदै निक्षेप आफ्नो तिर तान्न सुरु भएको छ ।
१ वर्षे मुद्दति निक्षेपको ब्याज नै १० प्रतिशत माथि पुगेको छ । सनराइज बैंकले गत भदौसम्म १ वर्षे मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याज दिएकोमा अहिले त्यसलाई बढाएर १० दशमलव शुन्य सात प्रतिशत पुराएको छ । अर्थात एक महिनाको अन्तरालमा नै यसको ब्याज ३ दशामलव शुन्य सात प्रतिशतले बढेको छ ।
कोरोना महामारी पछि बिस्तारै खुलेको बजारका कारण कर्जा प्रवाह बढेको छ । तर , कर्जा बिस्तारको अनुपातमा निक्षेप बढ्न सकेको छैन । बरु कर्जा त घट्दो क्रममा छ । गत असारको तुलनामा करिब ३० अर्ब बराबरको निक्षेप घटेको बैंकर्सहरु बताउँछन् ।
अर्थात महामारी खुुलेसँगै कैयनले बैंकबाट रकम निकालेर अन्य व्यवसाय गर्न सुरु गर्न थालेका छन् । साथै कैयनले ऋण नै लिएर पनि व्यवसाय गर्न सुरु गरेका छन् ।
महामारीका कारण ब्यापार व्यवसाय खासै हुन सकेको थिएन । जसका कारण ब्यापारीहरुले बैंकमा लगेर जम्मा गर्ने नै गरि नाफा कमाउन सकेका छैनन् ।
बैंकमा कम ब्याजदरमा पैसा आउन छाडेपछि बैंकहरुले ब्याजदर बढाएका हुन् । महामारीका कारण ओरालो लागेको ब्याजदर अब बिस्तारै उकालो लाग्न थालेको छ ।
निक्षेपको ब्याज बढेसँगै अब कर्जाको पनि ब्याज बढ्नेछ । कर्जाको ब्याज बढ्दा भने यसले आन्तरिक बजारको उत्पादन लागत बढाउनेछ । तर, बढ्दो ब्याजका कारण ग्राहकले बचत गर्ने बानीको पनि बिकास हुने देखिन्छ ।
तर ब्याज बढेको कारण उत्पादन लागत त छदैछ यसले महामारीबाट थलिएका ब्यापारी माथि उठ्न पनि कठिन गराउनेछ । उद्योगीहरुले गत साउनमा मौद्रिक नीति माथि सुझाव दिदै ब्याजदरलाई एकल अंकमा नै सिमित राख्नुपर्ने बताएका थिए । तर, यो अब संभव नहुने देखिएको छ ।
बैकहरुबिच निक्षेप तानातानको स्थिती सुरु भएको मात्रै हो । बैकर्सहरु त यहि गतिमा कर्जाको प्रवाह बढ्ने हो भने भोलिका दिनमा फेरी बैंकहरु बिचनै भद्र सहमति गर्नुपर्ने स्थिती आउने बताउँछन् ।
सनराइजसँगै उच्च मात्रामा सेञ्चुरी, ग्लोबल आइएमई सानीमा , सिद्धार्थ, एनएमबी र मेगा बैंकले पनि निक्षेपको ब्याज उच्च मात्रामा बढाएका छन् ।