शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विमलेन्द्र निधि र प्रकाशमान सिंह सभापति नछाड्ने, शशांकको पत्तो छैन

सोमबार, असोज ४ २०७८

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा धक्का दिनेगरी देखिएको तीन जना युवराजको गठबन्धन भत्किएको छ । शीर्ष नेतृत्वलाई दबाब दिनका लागि बनाइएको विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाको गठबन्धन सभापतिमा दाबी नछाड्ने भएका कारण भत्किएको हो । यी तीन जना कांग्रेस संस्थापक महेन्द्रनारायण निधि, गणेशमान सिंह र बीपी कोइरालाका पुत्र हुन् ।

निधिले सभापतिमा लड्नका लागि सम्पर्क कार्यालय तामझामका साथ उद्घाटन गरेका छन् भने सिंहले रामचन्द्र पौडेलले जसरी पनि सहयोग गर्नुपर्ने भन्दै सभापतिमा अडान कायम राखेका छन् । डा. शशांकले भने सभापतिमा लड्ने घोषणा गरे पनि तीव्र दाबी नगर्दा छाड्न सक्ने बताइन्छ । ‘यो गठबन्धन बन्दा नै सभापतिमा तीनै जनाको दाबी थियो तर महाधिवेशन नजिकिन थालेपछि अर्का पक्षको धक्काले भत्किएको छ’, स्रोतले भन्यो, ‘अब कांग्रेस नेतृत्वमा शेरबहादुर देउवा र पौडेल पक्षकै चर्चा हुनेछ ।’

गठबन्धन तयार पारेपछि विविध चरणमा बैठक भएका थिए भने कतिपय केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग पनि विविध चरणमा छलफल भएका थिए । तर, दोस्रो पुस्ता भनिएका तीन नेतालाई तेस्रो पुस्ताको साथ नहुने देखिएपछि फरक–फरक गुटमा नै देखिएका छन् । ‘उहाँ तीनै जनाको सभापतिमा दाबी भएपछि लामो समय जाँदैन भन्ने स्वाभाविक नै थियो । अब आफ्नै आफ्नै तरिकाले हिँड्नुको विकल्प छैन’, स्रोतले भन्यो । 

महाधिवेशनमा सभापतिका आकांक्षीको संख्या पनि बाक्लो भएको छ । तेस्रो पुस्ताबाट कल्याण गुरुङ मैदानमा उत्रिएका छन् भने तेस्रो धारका रूपमा १३ औं महाधिवेशनमा उदाएका कृष्णप्रसाद सिटौला पनि मैदानमा छन् । यस्तै नेतृत्वमा हस्तक्षेप गर्नेगरी तेस्रो पुस्ताबाट महामन्त्रीका लागि विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेलले घोषणा गरिसकेका छन् । यो पुस्ता मैदानमा अनिवार्य रूपमा देखा पर्नेछ । 

यता प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा कुनै पनि हालतमा महाधिवेशन सार्ने मुडमा छन् । त्यसअघि मध्यावधि चुनाव गराउने राजनीतिक खेलमा देउवा सक्रिय रहेको बालुवाटार स्रोतले जनाएको छ । एक कार्यकाल कांग्रेसको नेतृत्व गरी पत्नी आरजु राणा देउवालाई नेतृत्वमा ल्याउने देउवाको रणनीति रहेको छ । 

‘आफ्ना उत्तराधिकारीका रूपमा पत्नीलाई नै अगाडि बढाउने मुडमा सभापति पुग्नुभएको छ । सोहीअनुसार महाधिवेशनलाई केही धकेलेर शक्ति आर्जन गरी त्यसको प्रयोग गर्ने उहाँको रणनीति छ’, स्रोतले भन्यो ।