काठमाडौं । वडादसैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउदै छन् । गत वर्ष कोरोनाका कारण नया नोट वितरण नगरेको राष्ट्रबैंकले यो वर्ष भने स्वास्थ्य मापदण्ड पालना गराएर नोट वितरण गर्न लागेको हो ।
दसैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले हरेक वर्ष राष्ट्रबैंकले नोट वितरणको व्यवस्था मिलाउदै आएको छ ।
केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचना जारी गरेको छ ।
नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्नु पर्ने छ ।