काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो। केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो। बैंकले पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि रहेको छ।
उक्त बिल आगामी पुस ६ गते परिपक्व हुनेछ। यस्तै चार अर्ब ३० करोड बराबरको ट्रेजरी बिल १८२ दिनका लागि बिक्री गर्न लागिएको हो। उक्त बिल आगामी चेत ८ गते परिपक्व हुनेछ। केन्द्रीय बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गर्न लागेको छ। सो बिल विसं २०७९ असोज ४ गते परिपक्व हुनेछ।
केन्द्रीय बैंकले यसअघि भदौ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । यो बिलको निश्चित फेस भ्याल्यु (परल मूल्य) हुन्छ । भुक्तानी गर्ने वेलामा त्यही फेस भ्यालुबराबरको रकम दिने सर्तमा सरकारले ट्रेजरी बिल निष्कासन गर्छ ।