काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको विभूषणका विषयमा आक्रोश व्यक्त गरेका छन् ।
आइतबार च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले ‘आफ्नाहरू’का लागि पदक बाँडेको आरोप लगाए । ‘आफ्नाहरूका लागि बाँड्नका निम्ति डाडुपन्युँ समातेका रहेछन्’, उनले भने, ‘किन राष्ट्रपतिबाट बाँडिरहनु पर्यो मान पदवी ? बनिरहेकै ठाउँबाट लैजाऊ’, उनले भने ।
ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए ।
तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?’
बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । ओलीले अघि भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’ उनले अघि भने, ‘लजाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’
आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए । ‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २-४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला ?’ ओलीले अघि भने, ‘मुद्दा जिताई दिने, हराई दिने सम्मानित ।’ यो सबैका लागि लज्जाजनक भएको र यसको इतिहासले निर्मम मूल्यांकन गर्ने उनले बताए ।