शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

माधव नेपालको पहिलो निशाना भीम आचार्य र अष्टलक्ष्मीको सत्ता 

शुक्रबार, असोज १ २०७८

काठमाडौँ । विभाजनअघि बलियो साथ दिएका भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई सत्ताच्युत गर्नु माधवकुमार नेपालको पहिलो प्राथमिकतामा परेको छ। 

एमाले सचिव भीम आचार्य र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले प्रदेश १ र बागमती प्रदेश सरकारको नेतृत्व गरेका छन्। पार्टी विभाजन गर्नका लागि उक्साउने र आफू धोका दिएर पदमा पुगेका कारण ति दुवै प्रदेशमा आफू नेतृत्वको पार्टीको सत्ता बनाउने प्रस्ताव नेपालले गठबन्धनमा राखेका छन्। 

नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष हुन्। उनले शुक्रबार मात्र केन्द्रीय कार्यालयको उद्घाटन मिन भवनमा गरेपछि यस्तो बताएका हुन्। ‘हामी प्रदेश सरकारमा दाबी गरिरहेका छौं, एक नम्बर र बागमति हामीलाई हुनुपर्छ’, नेपालको दाबी थियो।

एमाले विभाजनअघि नौ जना स्थायी कमिटी सदस्य नेपाल पक्षमा रहेका थिए। तर १० बुँदे कार्यान्वयनको विषय आएपछि उनलाई यी दुईसहित अन्यले साथ छाडेका थिए। 
‘हामीलाई पदका निम्ति धोका दिएर केपी ओलीसँग टाँसिनेलाई नै स्वाद चखाउनुपर्छ भन्ने थियो, हामी यहि प्रक्रियामा अघि बढ्नेछौं’, समाजवादीका एक नेता भन्छन्,‘ओली चाहिने भए किन उक्साएका हुन् त?’

१० बुँदे सहमति कार्यान्वयनको निर्णयसँगै प्रदेश १ मा शेरधन राई र बागमतिमा डोरमणि पौडेलले दुवैलाई सत्ता हस्तान्तरण गरेका थिए। दुवै प्रदेशमा एमालेको राम्रो उपस्थिति भए पनि गठबन्धन दलभन्दा अल्पमतमा छ। यसैले सत्ता गठबन्धनमा सहमति जुटे नेपालको पार्टीका तर्फबाट १ नम्बरमा राजेन्द्र राई र बागमतिमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ।