शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विप्लव नेतृत्वको नेकपा केन्द्रीय कमिटीको बैठक बन्दीपुरको रिसोर्टमा , पत्रकारलाई ५ दिनसम्म रोक

शुक्रबार, असोज १ २०७८

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँमा सुरु भएको छ ।  पर्यटकीय क्षेत्र बन्दीपुरको एउटा होटलमा सुरु भएको नेकपाको ११औँ केन्द्रीय कमिटी बैठकले खुल्ला राजनीतिमा आइसकेपछिको रणनीति तय गर्ने बताइएको छ ।

 बैठकमा सहभागी हुन  महासचिव विप्लव हिजै बन्दीपुर आइका हुन् । बैठक आगामी मंगलबार सम्म जारी रहने  नेकपाका तनहुँ जिल्ला सचिव एटमले बताए । बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैँले बनाउने एटमको भनाई छ । 

बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । सो होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् ।

बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने नियम लगाइएको छ ।

बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलोपटक केन्द्रीय समिति बैठक गर्न लागेको हो ।