काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग खेल्दै छ । नेपालले ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र अमेरिकाबीचको खेल दिउँसो नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।
अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा देखिन्छ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा अमेरिकालाई हराएको नेपालले दोस्रो खेलमा भने घरेलु टिम ओमानविरुद्ध ५ विकेटले नै पराजित भएको थियो । यस्तै अमेरिकाले बिहीबार भएको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । लिग २ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ । ओमान १२ खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा छ । सात टोली रहेको लिग २ मा एक टोलीले ९ सिरिजसहित जम्मा ३६ खेल खेल्ने छन् ।
लिग २ को शीर्ष तीन राष्ट्रले २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।