काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा रामचन्द्र पौडेलले देउवाविरूद्धको समूहको नेतृत्व गर्ने तय गरेका छन् । आफू पक्षका दोस्रो तहका नेता पनि सभापतिका आकांक्षी रहेका बेला उनले देउवालाई टक्क दिनका लागि एक कार्यकाल महाधिवेशनमा भिँड्ने खाका तयार पारेका छन्।
१३ औं महाधिवेशनमा देउवासँग पराजित भएका तर कांग्रेसभित्रको प्रतिपक्षी नेतृत्व गरिरहेका पौडेल अन्यौलमा थिए। तर, उनले आफू पक्षका नेतालाई स्पष्ट रुपमा सभापतिमा सघाउन भनेका छन्। देउवा समूहमा रहेका उपसभापति विमलेन्द्र निधि सभापतिका लागि मैदानमा हुँदा पौडेल समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि तयार थिए।
यसबाहेक पहिलो पुस्तालाई धक्का दिन निधि, सिंह र कोइरालाको गठबन्धन पनि बनेको थियो। महाधिवेशन जति नजिक भयो त्यति नै पौडेल र देउवामात्र भिँड्ने वातावरण बनिरहेको एक जना नेताले बताए।
सरकारको नेतृत्व पनि गर्न नपाएको गुनासो सुनाउँदै पार्टी सभापति जितेको खण्डमा प्रधानमन्त्रीका लागि दोस्रो पुस्तालाई अगाडि सार्ने प्रतिबद्धता गरेका पौडेल अगाडि बढ्न सक्ने देखिएको ति नेता बताउँछन्।
त्यसो त पौडेललाई प्रधानमन्त्री वा एउटा सिनियर नेताका रुपमा सक्रिय राजनीतिमा राखेरै सभापतिका लागि सहयोग गर्न डा. शेखर कोइरालाले प्रस्ताव गरेका थिए। त्यसबेला पौडेल मौन थिए। उनले आफूलाई गिरीजाप्रसाद कोइरालाले राष्ट्रपति बन भन्दा पनि सक्रिय राजनीतिमा नै रहने जवाफ दिएर त्याग गरेको भन्दै आफूपक्षका दोस्रा तहका नेतालाई पौडेलले कन्भिन्स गरेका छन्।
पौडेलका साथमा आफूनिकट प्रभावशाली नेता रहने बताइएको छ। उनको खेमाबाट सम्भवतः महामन्त्रीमा डा. मिनेन्द्र रिजाल पनि हुनेछन्।