काठमाडौँ – नेकपा एमाले नेता रामबहादुर थापा बादलले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनि प्रश्न गरेका छन् ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको बताए । ‘मदन–आश्रितको हत्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ’, थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’
उनले सत्ताबाट कम्युनिस्टलाई हटाउन षड्यन्त्र भएको पनि बताए । ‘पार्टीभित्रको अन्तर संघर्षसमा दक्षिणपन्थी र विसर्जनवादी धार अलग भएको छ । समाजवादी धार दक्षिणपन्थी धारमाथि विजय भएको छ । राजनीतिक सत्ता षड्यन्त्रपूर्वक ढङ्गले अहिले कम्युनिस्ट पार्टीको नेतृत्वलाई विस्थापित गरिएको छ’, उनले भने, ‘हामीलाई विश्वास छ यो एउटा राजनीतिक षड्यन्त्र हो, प्रतिगमन र प्रतिक्रान्ति हो ।’ फेरि पनि एमाले स्थानीय, प्रदेश र केन्द्रको सत्ता स्थापित हुने उनले दाबी गरे ।