काठमाडौं । सरकार टिकाउन कसरत गरिरहेका प्रदेश एकका मूख्यमन्त्रीले अन्तत असोज २२ गते विश्वासको मत लिने भएका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री आचार्यले सरकार टिकाउनैकालागि हिजो केही व्यक्तिलाई सरकारमा प्रवेश गराएका छन् ।
नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने बताएका छन् । मन्त्रिपरिषद् विस्तार गरेसँगै मुख्यमन्त्रि आर्चायले असोज २२ गते विश्वासको मत लिने तयारी थालेका हुन् । विश्वासको मत लिने योजनामा रहेका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक बोलाएका छन् ।
सरकार गठबन्धनलाई बलियो बनाउने उद्देश्यले उनले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।
यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ । मन्त्री परिषद् विस्तारमा एमालेकै कतिपय नेताहरुले असन्तुष्टि व्यक्त गरेसँगै उनको प्रयास धेरै नटिक्ने आकलन गरिएको छ । यता, एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी रोजेकाले सरकारले जति पहल गरेपनि विश्वासको मत लिन नसक्ने भएकाले राजिनामा दिन सुझाव दिदै आएका छन् ।
समाजवादीमा गएका राजेन्द्र राईले सरकारका मन्त्रीले यो दसैंमा झण्डावाल गाडी लिएर ससुराली जाने मौका नपाउने भन्दै हिजो नियुक्त भएका मन्त्रीको आयु तोकिदिएका छन् । प्रदेश एकमा आचार्यलाई बहुमत पुर्याउन ४६ सिटको आवश्यक पर्छ । १० जनाले एमाले छाडेसगै आचार्य अल्पमतमा परिसक्नु भएको छ । त्यहा विपक्षी गठबन्धनसँग ५० सिट देखिन्छ ।