काठमाडौं । नेपालमा नौलो भाइरस निपाहको संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । भारतमा निपाह भाइरसको संक्रमण देखिएको भन्दै नेपाल सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भारतसँग खुला सीमा भएकाले नेपालमा पनि निपाह भाइरसको संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन भनेका छन् ।
संक्रमणलाई फैलिन नदिन शंकास्पद बिरामी देखिए नेपालमै परीक्षण गर्ने तयारी थालिएको मन्त्रालयले जनाएको छ । यसकालागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षणको व्यवस्था मिलाइएको छ ।भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको र दशैंको बेला त्यहाँ कार्यरत नेपालीहरु घर आउने भएकाले सतर्क रहनुपर्ने प्रवक्ता पौडैलको भनाई छ । निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक प्रकारको गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । विशेष गरि ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा यस्तो भाइरस पाइन्छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भारत र विभिन्न देशमा जस्तै नेपालमा पनि टरोपस प्रजातिको चमेरा (फ्रुट ब्याट) हुने हुँदा यसको जोखिम नेपालमा पनि उच्च छ। टेरोपस प्रजातिको चमेरा निपाह भाइरसको मुल स्रोत मानिन्छ। जुन हाम्रो देशमा पनि प्रशस्त भएको अनुसन्धानले देखाएको छ ।
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ। संक्रमित चमेराबाट सुँगुर, गाई, गोरूजस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ। यस्तै‚ संक्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ। डा. पुन निपाह भाइरसको हालसम्म कुनै औषधि र खोपसमेत नबनेकाले यसबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प भएको बताउँछन्।
निपाह भाइरसबाट मृत्युदर हालसम्म ७५ प्रतिशतसम्म देखिएको हुँदा कोरोना भाइरसभन्दा घातक रहेको बताइन्छ। निपाहबाट संक्रमण भएका १० जनामध्ये ७ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ।
निपाह भाइरस मानव शरीरमा छिरेपछि तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउने‚ धेरै टाउको दुख्ने‚ इन्सेफ्लाइटिस हुने र मानिसको मृत्युसमेत हुने गर्दछ।