बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मोबाइल बैंकिङमार्फत हुने भुक्तानीको सीमा बढ्यो , वालेट चलाउनेलाई सजिलो

बुधबार, भाद्र ३० २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत् हुने भुक्तानीको सीमा बढाएको छ । बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदाको अधिकतम सीमा बढाएको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँको सीमा रहेकोमा त्यसलाई बढाएर हाल प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ बनाइएको छ ।

साथै वालेटमा बढीमा ओभरनाइट २५ हजार रुपैयाँसम्म मौज्दात राख्न पाइनेमा त्यो संख्यालाई दोब्बर बनाउँदै ५० हजार रुपैयाँसम्म राख्न पाइने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार सो सीमाभन्दा बढी रहेको रकम अनिवार्य रुपमा ग्राहकको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था मिलाउनुपर्नेछ ।

क्यूआर कोडबाट हुने भुक्तानीको सीमा  पनि बढ्यो

राष्ट्र बैंकले क्यूआर कोड स्क्यान गरी हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । यसअघि मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम १ लाख रुपैयाँ रहेकोमा अहिले सीमा बढाएर प्रतिदिन २ लाख रुपैयाँ बनाइएको छ । साथै इन्टरनेट बैंकिङमार्फत् हुने भुक्तानीको सीमा १० लाख रुपैयाँबाट बढाएर प्रतिदिन २० लाख रुपैयाँ बनाइएको छ ।

डेबिट कार्डको हकमा भने यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न मिल्ने सुविधालाई यथावथ राखिएको छ ।

एटीएम र विद्युतीय भुक्तानीमा कति लाग्छ शुल्क ?

एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

दुई वटाभन्दा बढी कारोबारको हकमा बैंक तथा वित्तीय संस्थाले प्रति–कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् ।

यस्तै मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् ।