काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आक्रोश पोखेका छन् । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको भोलिपल्ट गृह जिल्ला झापा पुगेर ओलीले सभामुख अग्नी सापकोटा पक्षपाती भएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीले सभामुखकै कारण संसद अबरोध गर्नु परेको जिकिर गरे । संसदमा निष्पक्ष भएर काम गर्नु पर्नेमा सभामुख सापकोटा देशको सबैभन्दा ठूलो पार्टी विभाजन गर्ने षडयन्त्रमा लागेकाले उनलाई क्षमा गर्न नसकिने चेतावनी समेत दिए । नेकपा एमाले झापाको विर्तामोडमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सभामुखकै पक्षपाती कामका कारण संसद् अवरुद्ध गर्नु परेको स्पष्टोक्ति दिए ।
उनले १४ महिनापछि चुनावबाट फेरि आफु सत्तामा आउने दाबी गर्दै आफु सरकारमा रहदा असाधारण प्रगति भएको फहरिस्त समेत सुनाए । उनले व्यापार घाटा कम गरेर निर्यात बढाएको दाबी समेत गरे ।
अगुवा कार्यकर्ता भेलामा ओलीले अधिकांस समय माधव नेपाल र प्रचण्डलाई गाली गर्नमै खर्चिए । उनले प्रचण्ड राम्रा बा, असल ससुरा, गज्जब सम्धि हरेको तर बेइमान नेता रहेको टिप्पणी गरे। अध्यक्ष ओलीले माधव नेपाललाई भने वडा सदस्य सम्म जित्न नसक्ने हैसियत भएको नेताका रुपमा चित्रित गरे ।