काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । दिउँसो २ः३० बजेका लागि बोलाइएको बैठकमा संसद वैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।
सभामुख सापकोटाले बैठकका लागि पठाएको चिठ्ठी आइतबार नै बालकोट पुगिसकेको छ । ओलीले बैठकमा आफू नजाने बताइसकेको स्रोत बताउँछ । ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले भने बैठकमा पार्टीको तर्फबाट प्रतिनिधित्व हुने बताए ।
एमालेले लगातार प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक डाकेका हुन् । बैठकमा संसदमा प्रतिनिधित्व गरेका दललाई बोलाइएको छ । यता एमाले मुख्य सचेतक विशाल भटराईले बैठकमा जाने–नजाने टुंगो भइनसकेको बताउँछन् । सिंहदरबारमा त्यसबारेमा छलफल हुन लागेको उनले बताए ।