काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग अपरान्ह ५ बजे खेल्ने छ ।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २ – १ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् ।
बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप २०२२ छनोट उज्वेकिस्तानमा हुदैछ । छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्ने छ । यस्तै नेपालले असोज ५ गते दोस्रो खेलमा हङकङको सामना गर्नेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।