काठमाडौं । सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्गयाउने दाबी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।
बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम चाडो उपलब्ध गराईदिन गठबन्धनका नेतासँग आग्रह गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिईन् ।
पौडेलका अनुसार आजको बैठक मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा नै बढी केन्द्रित भएको थियो । साथै गठबन्धनलाई अझै मजबुद बनाएर लैजादै संसदमा विधेयक टेबुल गर्ने विषयमा छलफल भएको थियो ।
संसद बैठकमा जानु पर्ने भएकाले गठबन्धनको बैठक साँझ बस्ने गरि सकिएको पौडेलले बताईन् ।
सरकार गठन भएको दुई महिना बितिसक्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना बढ्दै गएको छ । दुई महिना यता चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलिरहेको छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट पनि तिब्र दबाब छ । पछिल्लो पटक मन्त्रीपरिषद् विस्तारमा छलफल गर्न भन्दै सत्ता गठबन्धन दलहरुको बैठक दिनहुँ बसीरहेको छ ।