काठमाडौँ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई योङ कम्युनिस्ट लिग (वाईसीएल)को दबाब परेको छ। खासगरी अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेशक (एमसीसी)बारे सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस पास गराउन उद्दत हुँदा प्रचण्ड दबाबमा थिए।
माओवादीलगायत सत्ता घटकका अन्य दलका युवा र विद्यार्थी एमसीसी विरोधमा उत्रिएपछि वाईसीएलको सम्मेलनमा उनले पास नहुने उत्तर दिएका छन्। अमेरिकालाई कुटनीतिक नोट पठाएको तर उत्तर नआएका कारण अब पास नहुने भनी वाईसीएल नेताको मुख थामथुम पारिएको बताइएको छ।
यता नेपाली कांग्रेस भने जसरी पनि एमसीसी पास गराउनुपर्ने लविङमा रहेको छ। २३ भदौका लागि डाकिएको प्रतिनिधि सभा बैठकमा नै एमसीसी टेबल गर्नुपर्ने कांग्रेसको अडान रहेको छ। तर सभामुख अग्नी सापकोटा कसरी अगाडि बढ्लान् भन्ने विषयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नियाँलेको बताइन्छ।
यसैबीच, योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकमा प्रचण्डले हस्तक्षेप गरेका छन्।
केन्द्रीय समितिबाट नयाँ नेतृत्व चयन गर्ने विषय टुंगो नलागेपछि प्रचण्डले हस्तक्षेप गरी संयोजक र सह-संयोजक तोकेका छन्। वाईसीएल संयोजकमा कास्कीका सुमन देवकोटा चयन भएका छन् भने सह-संयोजकमा सुबोधराज शेर्पाली छानिएका छन्। अन्य पदाधिकारी चयन नगरी केन्द्रीय समिति बैठक टुंगो लागेको छ।