शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, के होला निर्णय ?

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ । सत्तारुढ गठबन्धनको बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सत्तारुढ गठबन्धनको बैठक बिहान ९ बजे बस्दैछ । उक्त बैठक सकिएपछि ११ः४५ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेकी छिन् । त्यसैले सत्तारुढ गठबन्धनको बैठकको एजेण्डा एमसीसी पनि भएकाले त्यस लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ ।

सुमारले आज विहानै प्रचण्डसँग भेट गर्दै एमसीसीबारे मनाउने प्रयास गरेकी छिन् । उनले हिजो प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो राजनीतिक भेटवार्ता गरेकी थिइन् । उनले हिजो (बिहीबार) साँझ नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेकी थिइन् ।

बिहीबारको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याएका अध्यादेश, संसद् सञ्चालन लगायतका विषयमा छलफल भएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिएका थिए । उनले एमसीसीका विषयमा कुरै नभएको बताए । एमसीसीका विषयमा छलफल गर्ने भनिए पनि गठबन्धन आबद्ध दल जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएका कारण छलफल नभएको बताइएको छ ।

शुक्रबार बिहानको बैठकमा भने एमसीसी, संसद बैठक, अध्यादेश र मन्त्रिपरिषद विस्तारबारे समग्रमा निर्णय हुने नेताहरुले बताएका छन् । एमसीसीबारे विपक्षी दल नेकपा एमाले अध्यक्ष सत्तागठबन्धन कसरी अगाडि बढ्छ सोही अनुसार अगाडि बढ्ने निर्णय गरिसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै एमसीसी संसदमा पेश गरेको थियो । उसले पारित पनि गर्न खोजेको थियो । तर असफल भयो । नेपाली कांग्रेसले भने प्रतिपक्षमा बसेको भए पनि एमसीसी पास गर्नुपर्नेमा जोड दिएको थियो ।

यसपालि कांग्रेस सत्तामा छ र एमाले प्रतिपक्षमा । तर सत्तागठबन्धन घटकसँग एमाले रुष्ट छ । यो अर्थमा एमसीसी के हुन्छ भन्नेमा अन्योल कायमै छ । त्यस्तै गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले दुई महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद विस्तार गर्न ढिला भएको भन्दै देउवा सरकारको चर्को आलोचना भइरहेको छ ।

देउवाले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका कारण ढिलाई भइरहेको बताउँदै आएका छन् । गठबन्धन बैठकमा संसद कसरी चलाउने भन्ने बारेमा पनि छलफल हुनेछ । यसअघि बुधबार समेत देउवाले संसद सञ्चालनमा सघाउन आग्रह गरेका थिए ।