काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा नेपालले बंगलादेशलाई २ १ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरे । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् ।
एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ। एएफसी महिला एसियन कप(२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह एफ मा रहेको छ।
नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल असोज २ गते हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। सो खेल असोज ५ गते हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।