काठमाडौँ l सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज बिहीवार पार्टीको १४औं महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दैछन् ।
आसन्न १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदाधिकारीमा उठ्ने संकेत गरेका प्रवक्ता शर्माले आज बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्दैछन् ।
बिहीबार दिउँसो सुन्दरीजलमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्ने शर्माले बताए ।
कांग्रेसका चर्चित युवा नेता गगन थापाले भदौ १४ गते नै महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसमा २ महामन्त्री निर्वाचित हुने प्रावधान रहेको छ ।
गगन थापा तेह्रौं महाधिवेशनमा समेत महामन्त्रीको उम्मेदवार रहेका थिए । शशांक कोइराला र अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका उनी तेस्रो भएर पहिलो राउन्डबाटै बाहिरिएका थिए ।
कांग्रेसको विधानमा २ जना महामन्त्री हुने व्यवस्था रहेको छ । यसअघि १ महामन्त्री निर्वाचित र अर्का मनोनित हुने व्यवस्था थियो । संशोधित विधानमा दुबै महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ ।
प्रवक्ता शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । २५ जनाको लागि भएको खुला निर्वाचनमा शर्मा १४औं नम्बरमा रहेका थिए ।
हाल पार्टी प्रवक्ता रहेका शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापति हुन् । शर्मा २०५७ पुसमा संघको सभापतिमा निर्वाचित भएका थिए ।