काठमाडौं । नेपाली महिला फुटबल खेलाडीले पहिलो पटक दशरथ रङ्गशालामा खेल्ने भएका छन् । बंगलादेशविरुद्ध भोलि हुने पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै नेपाली महिला राष्ट्रिय टिमले दशरथ रंगशालाामा डेब्यु गर्न लागेको हो । अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको साढे तीन दशक पछि बल्ल महिला खेलाडीले दशरथ रङ्गशालामा खेल्ने मौका पाएका हुन् ।
यसअघि नेपाली महिला राष्ट्रिय फुटबल टिमले औपचारिक खेल दशरथ रंगशालामा खेल्ने अवसर पाएको थिएन । यस्तोमा बंगलादेशविरुद्ध हुने यो पहिलो खेल महिला खेलाडीकालागि ऐतिहासिक हुनेछ । नेपाली महिला फुटबलको इतिहास लामो भए पनि यसले अन्तर्राष्ट्रिय फुटबल भने अधिकांस समय विदेशमै खेलेको छ ।
नेपालले सबैभन्दा पहिले स्वदेशमा खेलेको भनेको पनि सन् २०१६ मा मात्र हो, जति बेला मलेसिया मैत्रीपूर्ण खेल खेल्ने काठमाडौं आएको थियो । नेपालले त्यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा खेलेको थियो । त्यसपछि नेपालले महिला अन्तर्राष्ट्रिय फुटबल विराटनगर र पोखरामा खेलेको छ ।