काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्न एमसीसीको तुरुप प्रयोग गर्न थालिएको आरोप लगाएका छन् । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने आफ्नो अडानलाई देखाएर सत्ता गठबन्धनमाथि राजनीति भइरहेको उल्लेख गरेका हुन् । दाहालले अमेरिकाले चाहेजस्तो जस्ताको तस्तै एमसीसी पास नहुने दोहर्याएका छन् ।
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौता अघि बढाउन आफूले चाहे पनि गलत ब्याख्या भइरहेको भन्दै आक्रोश व्यक्त गरे । प्रतिगमनलाई परास्त गर्न बनेको आफ्नो गठबन्धनले संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाकालागि काम गर्ने जिकिर गरे । अध्यक्ष दाहालले एमसीसीलाई हतियार बनाएर गठबन्धन विभाजनको खेलमा लाग्नेहरुबाट गठबन्धनलाई जोगाउन सकस परिरहेको बताए ।
अध्यक्ष दाहालले नेकपा एमाले पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी गर्दै एमाले नेतृत्वले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गरेको आरोप समेत लगाए ।