काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले अमेरिकी सहयोज परियोजना (एमसीसी)बारे अनावश्यक भ्रम फैलाएर राजनीति नगर्न चेतावनी दिएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा संसदीय दलका नेता समेत रहेका देउवाले शर्त विनाको सहयोग नहुने भन्दै एमसीसीबारे अनावश्यक टिप्पणी भइरहको भन्दै गुनासो गरे । उनले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको बताए
देउवाले एमसीसी सम्झौताबारे बुझेका सांसदहरुलाई मात्र बोल्न र नबुझेकाले अध्ययन गर्न निर्देशन दिए । देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने दाबी गरे । अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइनको सुधार र सडकको सुधारका लागि अनुदानका रूपमा एमसीसी परियोजना ल्याएकाले यसबाट नेपालमा हुने विकास र फाइदाबारे बुझ्न र बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिएका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै सरकारको अप्ठ्यारो सुनाए । उनले गठबन्धन सरकारको बाध्यता बुझिदिन सांसदहरुलाई आग्रह गरेका छन् । बैठकले भोलिदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई ह्वीप जारी गरेको छ ।
बैठकमा सांसद गगनकुमार थापाले एमसीसीका सम्बन्धमा अभिव्यक्ति स्वतन्त्रता विपरित हुने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीप्रति आपत्ति जनाएका थिए। सांसद मिनबहादुर विश्वकर्माले भने समावेशी र समानुपातिकताका विषयमा प्रश्न उठाए।
बैठकमा संघीय संसदको आगामी महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको छ । संघीय संसदको अधिवेशन भोलि अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ ।