काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम आज नेपाल आईपुगेको छ । बंगलादेशी टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।
बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा हुनेछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटमा नेपाल समूह एफ मा छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ ।
नेपाल र फिलिपिन्सबीचको खेल असोज २ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । त्यो खेल असोज ५ गते हुनेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।