काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । दशरथ रंगशालामा साँझ भएको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्रीले एक गोल गरे । त्यस्तै क्षेत्रीले थप एक गोलको अवसर सिर्जना गरिदिएपछि भारत विजयी बन्न सफल भयो ।
नेपालका तेज तामाङले एक गोल फर्काए । खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो ।
भारतीय डिफेन्डर चिन्गलेनसाना सिंह कोन्शामको क्रसमा सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको बलमा चौधरीले गोल गरेका थिए । खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए ।
खेलाडीलाई हौसला प्रदान गर्न सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण रङ्गशाला पुगेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी ओली पनि खेल हेर्न गएका थिए ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौं बोलाएको थियो ।
बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेका थिए ।