काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवाको जिल्ला डढेल्धुरासहित २१ जिल्लाको वडा अधिवेशन अनिश्चित भएको छ । क्रियाशील सदस्य सूची बुझाउन नसक्दा ती जिल्लाको अधिवेशन अनिश्चित भएको हो । कर्णाली, प्रदेश एक, दुई र बाग्मती प्रदेशका जिल्लाले सूची बुझाउन नसकेको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
प्रदेश एकको मोरंग, प्रदेश दुईका सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाका क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिमा आइ नपुगेको सचिव श्रेष्ठले बताए ।
यसैगरी बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ र रसुवा गरी चार जिल्लाका क्रियाशील सदस्यको सूची अझै सार्वजनिक हुन सकेको छैन । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाले पनि सूची बुझाउन सकेका छैनन् ।
कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डढेल्धुरा र कैलालीका क्रियाशील सदस्यको सूची सार्वजनिक नहुदा एक चौथाई बढी जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । भदौं १८ गते सबै ७७ वटै जिल्लाका वडा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो ।
अधिवेशन हुन नसकेका जिल्लाका कार्यकर्ताले चाँडो थपसूची सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
पार्टीले क्रियाशील सदस्यताको सूची दिएका जिल्लामध्ये ३७ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसले भदौ १८ अघि ५६ जिल्लाका क्रियाशील सदस्यको सूची बुझाएको थियो ।