काठमाडौं, भाद्र १७ । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह साढे ५ बजे हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ । आफु भन्दा बलियो टिम भारतविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा दृढ रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । फिफा वरीयतामा भारत १ सय ५ औं स्थानमा छ भने नेपाल १ सय ६८ औं स्थानमा छ ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेल सहज नहुने तर खेलका लागि टिम तयार रहेको बताएका छन् ।
साफ च्याम्पियनसिप भने आगामी असोज १५ देखि माल्दिभ्समा हुदै छ ।