काठमाडौं भाद्र १६ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा पार्टीमा केन्द्रीय सभापतिको उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।
काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै गुरुङले पार्टीमा युवा पुस्ताले नेतृत्व लिनु पर्ने भएकाले आफूले केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएको बताए । उनले शासन व्यवस्थामा परिवर्तन आए पनि युवा सोचमा परिवर्तन आउन नसकेकोले युवा पुस्ता पछि परेको बताए । युवा सक्षम छन् भन्ने पुष्टि गर्न पनि आफुले त्यसको नेतृत्व गरेको बताए ।
केन्द्रीय सदस्य गुरुङले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ पुस्ता पार्टीमा आउनु पर्ने बताए ।
वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह लगायतका नेताहरूले युवावस्थामै नेतृत्व गरेको पार्टीमा अहिले युवा पुस्ता हाबी किन हुन सकेन ? भन्दै गुरुङले युवाहरू नेतृत्वमा आउन डराउन नहुने बताए । उनले आफु पार्टीको सभापति बनेमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद एक पटकका लागि मात्र हुने वैधानिक व्यवस्था र देशको संविधानमा पनि दुई पटक मात्रै मन्त्री र प्रधानमन्त्री हुने व्यवस्थाका लागि पहल गर्ने बताए ।