काठमाडौं भाद्र १६ । एमाले विभाजन भएसगै नव गठित एकीकृत समाजवादी पार्टीमा खुल्ने क्रम दिनहु सार्वजनिक हुन थालेका छन् । प्रदेश–१ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
उनीहरूले आजै विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले एमाले परित्यागको घोषणा गरेका छन् ।
१० जना सांसद एकीकृत समाजवादीमा आएसगै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । ९३ सदस्यीय प्रदेशसभा अहिले ९२ जना सांसद छन् । तीमध्ये एक जना सांसद फौजदारी अभियोगमा सजाय पाएसगै फरार सूचीमा छन् ।
१० सांसदले छाडेसगै मुख्यमन्त्री आचार्यको पक्षमा अब ३९ जना सांसद छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादीका १५, जसपा ३ र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन् ।