काठमाडौं, भाद्र १५ । सत्ता गठबन्धनदलहरुबीच मन्त्रालय भागबण्डाका विषयमा आज पनि कुरा मिल्न सकेन । दलहरुबीच मन्त्रालयको संख्या र नामबारे कुरा मिल्न नसक्दा बालुवाटारमा बसेको गठबन्धन दलको बैठक निश्कर्षविहिन भएको हो । दलहरु भित्र मन्त्री बन्ने आकांक्षी धेरै हुदा नेताहरुलाई मन्त्रालय भागबण्डा मिलाउन सकस बन्दै गएको छ ।
मन्त्रिपरिषद् विस्तार र दलहरूले पाउने मन्त्रालयबारे आज टुङ्गो लगाउने भनिए पनि निर्णय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्यपी आज अपरान्ह पुन बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा फेरि छलफल हुने बताइएको छ ।
आज बेलुकासम्ममा टुङ्गो लगाएर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवाको तयारी छ । माधव नेपाल समूहको नयाँ दल दर्ता भएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि पार्टी भित्र धेरै आकांक्षी हुदा सहमति जुट्न ढिलाई भएको हो ।
गठबन्धनमा रहेका दलहरुबीच शुक्रवारयता दिनहुँ छलफल भइरहे पनि मन्त्रालय भागबण्डामा कुरा मिलेको छैन । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले डेढ महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध सत्ता गठबन्धन दलमा कसलाई कुन र कति मन्त्रालय दिने भन्नेबारे सहमति जुट्न नसकेको हो ।