बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धन दलबीच मन्त्रीपरिषद् विस्तारमा सहमति जुट्न सकेन, साँझसम्ममा मन्त्री बन्नेको नाम दिन प्रधानमन्त्रीको आग्रह

सोमबार, भाद्र १४ २०७८

काठमाडौं, भाद्र १४ । सत्ता गठबन्धन दलले आज पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेनन् । सरकार गठन भएको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रीपरिषद्ले पूर्णता पाउन नसकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आफ्ना दलबाट मन्त्री बन्नेको नाम सकेसम्म आजै प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको छ ।

दलहरुले आफुले पाउने मन्त्रालयमा पठाउने मन्त्रीको नाम आजै टुङ्गयाए साझसम्ममा मन्त्रीपरिषद् विस्तार हुने बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा  नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको  घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गएको साउन १५ गते भारतीय सुरक्षाकर्मीले तुइन फुकाइ दिँदा धामी महाकालीमा बगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको अनुसन्धानका लागि सरकारले छानबिन समिति बनाए पनि अझै प्रतिवेदन सार्वजनिक भएको छैन । सरकारले नै घटना लुकाउन खोजेको पीडित परिवारले आरोप लगाउदै आएका छन् ।