काठमाडौं, भाद्र १३ । सत्तारुढ दल नेपाली कांग्रेसमा आन्तरिक सहमति जुटेसगै मंसिरमा महाधिवेशन हुने सम्भावना बलियो भएको छ । सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच निर्वाचन निर्देशिका संसोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेद्वारको मापदण्डमा सहमती जुटेसगै महाधिवेशनका गतिविधीहरु बढ्न थालेका हुन् ।
यो सगै १८ गते एकैसाथ ६ हजार ७ सय ४३ वडामा एकै दिन अधिवेशन हुने भएको छ । विभिन्न ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित भएसगै पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसनरत जिल्ला सभापतिहरुले पनि अनसन तोडेका छन् ।
केन्द्रीय निर्वाचन समितिले हिजो नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेसगै ५३ जिल्ला विवादरहित बनेका छन् । निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सूची सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पठाइसकेको बताए ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुदैछ । कांग्रेसमा यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य हुने यादबले बताए । पटक पटक स्थगित हुदै आएको कांग्रेसको महाधिवेशन आन्तरिक किचलो र नेतृत्वको असक्षमताले धकेलिदै आएको भन्दै कार्यकर्ता निराश भएका छन् ।