काठमाडौं, भाद्र १२ । नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेका एमालेका नेताहरुलाई पार्टीमा आएर नेतृत्व सम्हाल्न आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए आाफुले नेतृत्व छोड्ने उद्घोष गरेका हुन् । पार्टी निकट पेशागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटकपटक दोहोर्याए
उनले भने, ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छुु , आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष बन्नुहोस् ।’ म अध्यक्ष पदबाट अहिल्यै र केही वर्षपछि प्रत्यक्ष राजनीतिबाटै बिदा भइहाल्छु । उनले भने यो विचार, सिद्धान्त र मूल्य मान्यताको लडाइँ हो ।
अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क गरे । उनले अहिले पनि ओलीले आफूविरुद्ध कुप्रचार गरिरहेको भन्दै त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
उनले समाजवादको अभियानमा पदलोलुप नभइ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।