काठमाडौं, १२ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज (शनिबार) भेटवार्ता भएको छ । दुई जनाबीच अपूरो मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन् ।
‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्, ‘भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ ।’ गठबन्धन सरकार गठन भएको लामो समय भइसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । खासगरी आफूलाई विश्वासको मत दिने तत्कालीन एमालेको माधव नेपाल पक्षलाई उनले पर्खेका हुन् ।
नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गरेसँगै अब मन्त्रिपरिषदलाई पूर्णता दिने प्रक्रिया अघि बढेको हो । नेपालको दल पनि सरकारमा सहभागी हुने बताइएको छ । ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी हुने वा नहुने टुङ्गो लागेको छैन ।