काठमाडौं, भाद्र ९ । राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । उनले एक लाइनको स्टाटस लेख्दै आफ्नो असन्तुष्टि पोखेका हुन् ।
फेसबुकमा अल्मुताइरीले लेखेका छन्, ‘आइ एम आउट ‘। लेट पोलिटिक्स वर्क’ ।
वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गसंगको विवादको प्रतिवेदन सार्वजनीक भएसंगै अलमुताइरीको भनाई बाहिर आएको हो ।
अलमुताइरीले नेपाल छाड्ने संकेत गरेका छन् । राखेपलाई आज प्रतिवदन बुझाउँदै समितिले मुख्य प्रशिक्षक अल्मुताइरीलाई विवाद सिर्जना हुने गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको थियो । समितिले अलमुताइरीले सम्झौता अनुसार कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं समाजिक सञ्जालमा कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने सुझाव दिएको छ ।
प्रतिवेदनको निष्कर्श बाहिर आएसंगै प्रशिक्षकले नेपाल छाड्ने संकेत गरेका हुन् । वरिष्ठ उपाध्यक्षलाई लक्षित गर्दै समाजिक सञ्जालमा राजीनामा घोषणा गरेका मुख्य प्रशिक्षक अलमुताइरीले समाधानतर्फ उन्मुख विवादलाई पुन उछाल्न खोजेको देखिन्छ ।