काठमाडौं, भाद्र ५ । माल्दिभ्समा हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफ ले यस अघि निकालेको तालिका परिवर्तन गर्दै आज नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्नेछ ।
नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर असोज ३० गते प्रतिस्पर्धा गर्ने छन् ।