काठमाडौं। माधवकुमार नेपाललगायत १४ जनालाई कारबाही गरेको सूचना टाँस्न आनाकानी गरेका सभामुख अग्नी सापकोटाले निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन्।
आयोगले मंगलबार नेपालको नयाँ दल नेकपा एकीकृत समाजवादीलाई प्रमाणपत्र दिएपछि सापकोटाले एमालेले कारबाही गरेका सांसदको सूची टाँस्ने तयारी गरेका हुन्। तर, त्यो सूची टाँसिए पनि प्रभावशुन्य हुनेछ। कारबाही गरिएका सबै सांसदको अस्तित्व नेकपा एकीकृत समाजवादीमा कायम रहनेछ।
राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण एमाले विभाजन भएको हो। एमालेलाई फुटाउनका लागि राज्यका सबै शक्ति लागि परेको सांसद महेश बस्नेतले बताएका छन्। त्यसअघि नै नेपाललगायतलाई कारबाहीको सूचना टाँसिनुपर्ने भन्दै एमाले सांसदले दबाब दिएका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनका आधारमा सापकोटाले यसो गरिरहेको एमालेको आरोप छ। माओवादी कोटाबाट नै उनी सभामुख भएको तथा प्रचण्डसँग नजिक छन् भने प्रधानमन्त्री रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो थिएन।
भक्तपुरमा भएको एउटा कार्यक्रममा ओलीले सभामुखलाई माओवादी कार्यकर्ता नबन्नका लागि चेतावनी दिएका थिए। तर, सभामुख सापकोटाले प्रचण्डको निर्देशनका आधारमा नै माधव नेपालको राजनीति जोगाउने खेल खेलिरहेका छन्।