काठमाडौँ – पार्टी विभाजनको संघारमा रहेका बेला नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार गरेका छन्।
पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको छ । तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुङ्गो लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।
तर चुनाव चिन्ह भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले भने, ‘पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह सूर्य नै हुनेछ ।’ उनले भने, ‘उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । हामीले सूर्य छाड्दैनौं ।’
चौधरीका अनुसार नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् । नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए ।
एमाले वरिष्ठ नेता नेपालले हिजो मात्र अध्यक्ष ओलीले एकताको सबै ढोका बन्द गरेका कारण वाध्य भएर नयाँ प्रक्रियामा जानु पर्ने अवस्था आएको बताएका थिए । ओलीको अहंकारकै कारण एमाले विभाजनको मोडमा आइपुगेको बताउँदै आउँदो चुनावमा केपी ओलीसँग चुनावी तालमेल हुनसक्ने समेत बताएका थिए ।