काठमाडौं l प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति सम्पन्न शीर्ष नेताहरूको अनौपचारिक छलफलले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।
आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले बैठक आह्वान गरेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
स्थायी कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बिहान ११ बजे बस्ने उनले जानकारी दिए। संसदीय दलको बैठक दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने तयारी रहेको उनको भनाइ छ।
सरकारले संसद् अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै ओलीले आफूनिकट नेताहरूसँग छलफल गरेका हुन्।